Wednesday, August 12, 2020

ओपिडि डायरी

 "यस्ती सैतान छोरीले नी के सुख देली र खै डाक्साप जिन्दगीमा?" मैले ओटोस्कोपले कान हेरेर 'नानीले बोडी या भटमासको दानो कानभित्र छिराएजस्तो छ दिदि' भनेपछी बच्चीकी आमा दिक्क मान्दै फतफताउंदै थिईन् । उनी अनुरोधको भाकामा बोलिन् "लौ न सर कसरी हुन्छ निकाल्दिनुपर्यो" । तर विडम्बना हाम्रोमा कानको उपचारका औजारहरू सबै थिएनन् , गेडो पनि कानको अली भित्रै नै थियो । 'अड्कोपड्को तेलको धूप' भनेझैं मैले एउटा सिरिन्जलाई बंगाएर हुकजस्तो बनाए अनी कानभित्रको दाना निकाल्ने प्रयास गरें । सानो ठाउंमा काम गर्दा सबै साधन खोजेर कहां पाउनु, गर्ने जुगाड न हो । कत्ती प्रयास गर्दापनि केही सिप लागेन । त्यहींमाथी फूच्ची त्यस्तै चकचके : विचरी केटाकेटी न हो भनेको के मान्नु! मैले यसो विचार गरें, बच्चीलाई कुरामा भुलाउनुपर्यो अनी काम गर्न सजिलो होला भन्ठानेर यसो बच्चागफ लडाउंदै बोलें "अनि यसरी कानमा गेडागुडी हाल्छन् त लाटी, खानेकुरा त मुखमा पो हाल्नुपर्छ?" बच्ची केही बोलिन अनि उसको नाम नै लिएर प्रश्न गरें, "ल भन त सुविना, तिमीले किन कानमा यस्तो हालेको? भन्यौ भने नदुखाईकन निकालिदिन्छु।" केहीबेरको मौनतापछी उ हल्का डराउंदै र लजाउंदै बोली, "कहांबाट निस्किनी रैछ भनेर हेर्नलाई नी!" हरे बच्चाबच्चीको जिज्ञासुपन र explore गर्ने तरिका । मान्नैपर्छ बा । अब अन्तिम एक प्रयास गर्छु भनेर निकै सावधानीका साथ सुई कानमा छिराएं, नानीले पनि भनेको मानि/ चलिन र अन्तत: एउटा भटमासको दानो कानबाट फुत्त बाहिर निस्किनपुग्यो । भटमास नानीकी आमालाई देखाएर यस्सो डस्टबिनमा फाल्नमात्र के लागेको थिएं उनकी आमाले हत्तपत्त त्यो दानो नफाल्दिनु न म घर लिएर जान्छु पो भनिन् । मपनि वातावरणलाई थप सहज बनाउने सोंचेर जिस्किंदै बोलें "के गर्नुहुन्छ यो लगेर रोप्ने विचार छ र?" उनले अट्टहासका साथ थपिन् 'भोलिपर्सी अलि बुझ्ने भएसी यसलाई देखाउनु परेन सर यो कती बदमास थिई र कती दु:ख दिन्थी मलाई भनेर? यसको बाउले विदेशबाट फोन गरेर एउटा बच्चीको पनि ख्याल राख्न सक्दिनस् भनेर मासु खाईसक्यो' उनी बोलिन् । "यस्ती सैतान छोरीले नी के सुख देली र खै जिन्दगीमा?" पुन: प्रारम्भकै प्रतिप्रश्न?? मैले उनलाई त्यो दानो थमाएर कानमा हाल्ने एउटा औषधी लेखिदिएं अनी पुर्जा उनीतिर सार्दै बोल्नपूगें "कानमा एउटा गेडो हाल्दैमा बच्चाबच्चीले जिन्दगीमा दुख दिन्छन् भन्ने हुन्छ र दिदि? मैलेपनि यो नानीजस्तै हुंदा कानमा धानका गेडा हालेकोथें, यस्तो टुप्लुक्क एउटा हैन, ४-५ ओटा । खोई अहिलेसम्म आउंदा बाआमा खुसी नै छन् जस्तो लाग्छ मदेखी, धेरै सुख दिन नसके नी दुखी नै बनाउन परेको त छैन । " उनी खिस्स हांसिन्, बच्चीलाई काखमा बोकिन् र मैले लेखेको पुर्जा हातमा गुटुमुटु पार्दै जवाफ फर्काईन् , "बरू ३-४ ओटा दाना अझै हालेपनि केही थिएन डाक्साप यो केटीले तर हजुरजस्तो डाक्टर बनी भने के चाहिन्थ्यो र मलाई" यतिभन्दै उनी आफ्नो बाटो लागिन् । उनको बोलीमा आफ्नो सन्तानप्रतीको माया र तिनको भविष्यप्रतिको गहिरो रहस्य लुकेको थियो । उनी नानी बोकेर पर पुगिसकेकी थिईन् । म त के नै थिएं र एउटा सामान्य व्यक्ती जो आफ्नो भविष्यको संघारमा अन्योलता र संकोचैसंकोचको पाईलाहरू चलाउंदै थिएं तरपनी आमाको चाहनाजस्तै धेरै ठूलो र सफल डाक्टर बनाईदिनु प्रभू यि नानीलाई । किनभने आमाको सपनाभन्दा ठूलो र खुसीभन्दा शितल के नै होला र संसारमा? आमाको आंशुभन्दा अंधकार र बेचैनी भन्दा प्रचण्ड के नै होला धरतीमा? यत्तिकैमा छेवैमा उभिएकी कार्यालय सहयोगी दिदीले भनिन्, "भनेपछी हजुरपनि यही नानीजस्तै हो सर?" हरेक बच्चा उस्तै त हो नी दिदी भन्दै आफ्नो बाल्यकालको बिठ्याईं दिदीलाई सुनाउन थालें । मंसिरको महिना थियो, म त्यस्तै ४-५ बर्षको हुंदो हूं, बुवामम्मी धान स्याहार्दै हुनुहुन्थ्यो, म केलाईसकेको धानको थुप्रोनेर बसेको थिएं । मलाई के बालबुध्दी फिरेछ कुन्नी हत्केलामा धानका दाना लिंदै एउटा एउटा गर्दै कानमा छिराउन लागेछु । करिब ५ ओटा जती धानका दाना कानमा हुलिसक्दा मम्मीले देख्नुभयो र हत्तपत्त आएर हात टक्टकाईदिनूभो अनी लौ न नी भन्दै जूरूक्क उठाएर मेरो कान तन्काएर हेर्नथाल्नूभो । एक लट गालीसंगै मेरो कानमा धानरोपाईं कार्यक्रम त्यहीं स्थगीत हुनपूग्यो । यता बुबामम्मीले मलाई रोपिसकेको बिउ काड्न मेडिकल लैजाने सल्लाह गर्नुभएछ । त्यसपछी म बुवाको साईकलको पछाडी बसेर मेडिकलसम्म पूगें । त्यहांको डाक्टर अंकलले बडेमानको पिच्कारी ल्याएर मेरो कानमा होली खेल्नुभाको अझै याद आउंछ , ओहो त्यस्तोबेला कती डर लाग्दोरैछ भन्ने कि मलाई थाहा भयो कि अघी मैले भटमासको गेडो निकालेकी नानीलाई थाहा होला । एक एक गर्दै सबै दाना निकालेपछी बुवाले मलाई घर ल्याउनुभो । मेरो धान रोपाईले यता घरमा त्यो दिनको धान स्याहार्ने कार्यक्रम स्थगित नै भईसकेकोरहेछ । म भने सबै कुरादेखी बेमतलब, बजारमा बुवाले किनिदिनुभाको फ्रूटी र चाउचाउमा रमाउंदै थिए । बच्चाबेला बिरामी हुनुको एकमात्र राम्रो पक्षचाहीं के भने खान मन लागेको चिजमा पसल अगाडी गएर औंलो तेर्साईदिएपछी अरूबेलाजस्तो नाईनास्ती रोकावट केही नहुने । अहिले ति दिन सम्झेर ल्याउंदा रमाईलै लागेर आउंदोरैछ तर पिच्कारीको पानीले होला रातभर कान गिजीगिजी गरेको सम्झंदा चाहीं गिदि लागेर आउने बा ।

Most Viewed