Monday, July 22, 2013

गोरेटो नै टुंगिएपछि

 यो लेख मैले करिब एक बर्ष पहिले एक अध्यारो रातलाई सम्झेर लेखेको थिय। शायद समय नै प्रतिकुल थियो अनी मेरा भोगाइहरुपनी।।।मौसम फेरीइसकेकोछ। जिन्दगी पुन: खुशीहरुले सजियका छन। तर पनि "दु:खमा नआत्तिनु ,सुखमा नमात्तिनु"  भन्ने त उखानै छ नेपालीमा। यसर्थ ति अतितका भोगाइहरु पनि मेरा डायरिका पानाहरुमा कैद गर्न मन लागेर यो लेख शेयर गर्दैछु... 

   
A click during Sanga visit
जीवनलाई परीभाषित गर्ने धेरै बिध्द्वनको लेखहरु पढे मैले र महशुस गर्न पनि कोसीस नगरेको होइन। फक्रेको सुन्दर फुलदेखी लियर बन्द कोठाभित्र रुमल्लीइरहेको  धुवाँसम्मका खन्डक्रममा मेरो आफ्नो सरल आममानिसको जीवन कहाँनेर कैद भैरहेकोछ??? यो प्रश्नले हरेक रात दुबिधामै निदाउन बिवश पार्दथ्यो मलाई। तातेताते गर्दै आमा को हात समाउँदै हिड्दा चोकैनेर पर्ने हर्के दाइको किराना पसलको मिठाइ मा जिन्दगी देख्नेगर्दथे म । सो एउटा मिठाइ आमाले नकिनिदिदा भक्कानो फुटायर रुने ति अतितदेखी आफ्नै अगाडि सारा सपनाहरु "बिश्वासघात" नामको "आदर्श झुठ" संगै सती जाँदापनि चुपचाप् दुनियाँको नजरमा मुस्काउनुपर्ने बर्तमानसम्म आइपुग्दा लाग्दछ शायद सफल भयो यो एक सामान्य मानिस पनि महान बिध्द्वन्सरी बुझ्न र लेख्न जीवनको परीभाषा । मैले यस धर्तिमा पाइला टेकेको पनि करीब २० बसन्त पुरा भईसकेछन। त्यस मुहानबाट शुरु भयर आज सागरमा मिसिदै गर्दाको यो पलसम्म आइपुग्दा कहिले खहरे बनेर हुत्तिन बिवश भयको छु त कहिले सालीन नदी बनेर तैरने अवसर पायकोछु। जसमा पनि मेरो "सपना को महल" यानिकी यो PAHS को मझेरी जहाँ हरेक मिर्मिरेको लालिसङै दैलोमा लगनको कमेरोले पोत्न लागेको पनि ठ्याक्कै दुई बर्ष तीन महिना र पाँच दिन पुरा भईसकेछ। थाहा छैन यो समय आँफैमा लामो हो या छोटो, तर मेरो लागि जिन्दगीकै सबैभन्दा अबिस्मरणिय पलहरु समेटियका छन यि तीन क्यालेन्डरका पानाहरुमा। किनकी रुन त मैले जन्मेकै पलबाट सिकेको थिय तर घाइते मुटुको चित्कार लाई कृत्रिम अट्टहास ले दबायर जिउनु के हो सिके यही मझेरीमा, केही अपत्यरिला ब्यक्तिहरुको संगतले।।।

बिचरा एउटा बालक जो आफ्न जीवनका करीब १८ बसन्तहरु परिवार, बिध्यालय , कलेज , पढाई र निन्द्रामै ब्यतित गरेको होस् उसलाई यो संसार रमाइलो, सुखी र सफा लाग्नु त स्वभाविकै हो। तर बिडम्बना त्यो त केबल उसको निर्दोषपनको ऐना मात्र थियो। के थाहा उसलाई यहाँ त ऐनाहरु पनि झुठ बोलिदिन्छन स्वार्थको किरणलाई परिवर्तन गर्ने अवसर पायपछी। ति दिनहरु अझै पनि ताजा छन मेरा मानसपटलमा, हतार-हतार उठेर पाटनको साँगुरो गल्ली हुँदै झोलाभरी डाक्टर बन्ने फराकिलो सपना बोकेर पाटन अस्पतालमा पाइला टेकेका दिनहरु। शुरुका दिनहरु त साँच्चै नै रंगिन लाग्दथ्यो। सबै साथीहरु कती मिलनसार , सरल र खुशी। तर मेरो बिडम्बना भनुँ या समयको माग, रितु बदलियसरी फेरिय संगिका मुहारहरु। बिस्तारैबिस्तारै शिशिरयामको कुहिरो पनि हराउन थाल्यो।। यस्तो लाग्दैथ्यो ति साथ त केबल एक दलदल सरि थिय, जती नजिकिदै गयो उती खतरा। बुझ्न सकिन मैले पनि यो तितो सत्यलाई र रम्दै गए आफ्नो सोझोपनमा। दुर्भाग्य आज सोही दलदल को माझमा निरिह भई टोलाउनु शिवाय कुनै बिकल्प रहेन मसँग। हरेक बिहानि जब ऐना हेर्दथे त अनौठो भान हुन्थ्यो मलाई र लाग्दथ्यो विश्वकै भाग्यशाली अनुहारहरुसँग मिलेको आफ्नो अनुहार। दिन, हप्ता, महिना र रितुहरुको परिवर्तनसँगै साथहरु पनि छुट्दैगए , सपनाहरु पनि टुक्रिदैगए । अनौठो लाग्दछ कहिलेकाही,  मानीसहरु  यस्तोसम्म पनि कसरी हुनसक्छन । एउटा रोटी पाउने स्वार्थमा अल्झियर संगै कैयन रातहरु भोकभोकै बितायका साथीहरुकै बद्ख्वाइ गर्दै हिंड्ने चरित्र मेरो लागि सह्य थियन । पिडा यसकारण थियन कि कोही बदलियो , कुरा यो थियो कि मेरो बिश्वासको बाँध स्वयम लगाउनेलेनै फुटाउदैथियो । मेरो अपेक्ष्या ठुलो हो या उनिहरुको यथार्थ साँगुरो थाहा छैन मलाई , तर जे जस्तो भएतापनि एउटा कुरा प्रष्ट थियो , या त बदलिनुछ आफु या त एक्लिनुछ जीवनबाट। मैले प्रयास नगरेको पनि त होइन। यो दोबाटोको खाडलमा जमेको धमिलो पानी त रहेछ आखिर। आत्मग्लानी, पिडा र एक्लोपनको रापमा पिल्सिपिल्सी स्वच्छ बाफ बनी उड्ने प्रयत्न त गरेकै थिय। सोहिअनुरुप मेरी आमा को आशाको गगन पनि त चुमे मैले सेतो निश्चल बादल बनेर। तर नियतिको खेल यो दुनियाँ कठोर रितु बनेर ओइरियो ममाथि अनी बिवश भए बर्षा बनेर सोही खाडलमा थेचारिनको लागि। त्यो दिन हारे मैले र निमोठिय आदर्श , निर्दोश जीवनशैली। दुनियाँ त बैरी भयोभयो लाग्दथ्यो इश्वर नामको केही चिज त होला। तर के थाहा,  इश्वर त धेरै पहिले नै मरिसकेको थियो। यो संसार त केबल दानवको राज्य बनिसकेछ। दुनियाँ र इश्वर त के मेरै भाग्य पनि खनियो ममाथि। किन, अझै केलाउन सकिराखेको छैन ???

धेरै रातहरु छटपटिमै सकिए, धेरै दिनहरु सोँचाइ मै अल्झिराखे। अन्तत: म बिवश भएँ  हार स्विकार्नलाई। कसैले ठिकै भनेको रहेछ "अन्धाको देश मा आँखा चिम्लनु , लंगडाको देश मा गोडा खुम्च्याउनु" भनेर । म भित्रभित्रै गलीसकेकी थिएँ ।यसरी कुहिरो मा रुमल्लीइरहेको   कागसरी रहँदा जीवनमा केही सहयोगका हातहरु नपायको पनि त हैन। तर यसो हेरे  कती खुशी छन उनिहरु । त्यो खुशीको प्यालामा अटल निश्चल पानीमा म कालो मसिको थोपा बनेर घुल्नुको सार्थकता देखिन मैले। छुट्टीने बेला भनेका थिय  "त आफुभित्रको हिरालाई लर्कार्दैछस....." भनेर । म केही बोलिन, वास्तवमा मलाई भन्न मन थियो " थाहा छ ,तर पनि बिवश छु भनेर किनकी त्यो हिरा कसरी चम्केला मेरो अन्धकार मुटु को कुनामा जहाँ आशाको हरेक किरण संघारबाटै गोरेटो मोडीदिन्छन।

परिवर्तन नितान्त आवश्यकता बनिसकेको थियो। यसो फर्कियर हेरे अतितलाई, मेरी आमाले सिकाएको संस्कार, बिचार  कसरी पराजित भयो । मैले आँखा चिम्लेर उनिसँग माफि माग्दै बदलीदिय आफुलाई। बिस्तारै फेरी साथहरु जोडीन थाले , पुरानै मुहार र महोलहरु फर्किन थाल्यो। लाग्यो मेरी आमा गलत थिन । यो संसार सच्चै झुठ, बिश्वासघात र दानवता कै नजर बाट आफ्नो बनाउन सकिदोरहेछ। सबै एकदमै सहज भईराखेको थियो । तर आज यही भिडहरुको माझमा अनायासै एउटा आवाज मेरो कान मा ठोक्किन पुग्यो। " सुधन, झुठ , बिश्वासघाति र गलत नाम" ।।। विश्वाश नलाग्ने यस्तै यस्तै वाक्यहरु। म पुन: सोंच्मग्न  भए। यही समाजले मलाई विवश बनायो बदलीनको लागि तर जब परिवर्तित भएँ, चिच्याउदैछ मेरो परिवर्तनमाथि, औंला ठड्याउदैछ मेरो नयापनमा। अनी मैले महशुस गरें वास्तवमा यो दुनियाँ मेरो होइन रहेछ, उनिहरुलाई मेरो निर्दोषपनमाथि त समस्या नै थियन। केबल थियो त मेरो खुशी र स्वतन्त्रतासँग । तर मैले हारेको छैन । आजपनी हरेक बिहानिमा स्पर्श गर्ने गर्छु मुस्कानको दुबोहरुलाई शित बनेर। दुनियाँ रापिलो किरण बनेर आइपर्छ अनी अन्धकार हटाउने  निहुँमा मेटिदिन्छ मेरो मुस्कानलाई, सुकाइदिन्छ शितका थोपाहरुलाई। तर म बर्सिनेनैछु हरेक रात र मिर्मिरेमा शित बनेर र हाँस्नेछु छोटो पल भएपनी जिन्दगीको। तर पनि यथार्थ यही नै हो दुनियाँ त मेरो रहेन रहेन मेरो मौलिकता पनि मरेसकेको थियो परिवर्तन को निहुँमा। त्यसैले एउटा प्रश्न घुमिरहन्छ अझपनी मेरो दिमागमा "कसलाई घ्रिणा गर्दैछु म हरेक पल ??? यो दुनियाँ या स्वयम आँफैलाई ??? प्रश्न गम्भिर छ तर उत्तर पाउनको लागि कती बसन्त कुर्नुपर्ला म भन्न सक्दिन।।। 

सुधन देवकोटा 
2069/05/05
PAHS होस्टल
                                                                                                

No comments:

Post a Comment

Most Viewed