अचानक एउटी
महिला मेरो अगाडी आईपुग्छिन, टक्क उभिन्छिन् र टेबल ठटाउँदै रुखो स्वरमा बोल्छिन्, "को हौ तिमी?" म औषधी लेख्दै गरेको पानाबाट थोरै नजर उठाएर हेर्छु: एउटी होंचीहोंची कुप्री परेकी बुढी आमा, जसको पाइलाहरु त ओपिडि कोठाको भुइँमा देखिन्थे तर यस्तो लाग्थ्यो कि उनी जीवनकै उत्तरार्धमा उभीईरहेकी छिन। अन्य सबै बुढाबुढी भन्दा भिन्न , उनको चिनारी भनौं या बिशेषता : उमेरले ७० काटेपनी आँखामा भने आधुनिक जमानाका नौजवान युवतीहरुले लगाउने खालको कालो गग्स हुन्थ्यो । सुहाउन पनि औधी सुहाउने । नाम पनि उस्तै राम्रो आमाको: बाटुली । म उनको प्रश्नको जवाफ फर्काउँछु, "आमा, म डाक्टर हुँँ। हजुरहरुको जांच र ओखतिमुलो गर्न आको ।" यो सुन्नासाथ उनी दंग पर्छिन र नक्कले चस्मा खोल्दै देब्रे आँखा देखाएर भन्छिन, "लौ उसोभा मेरो बादल लागेको आँखाको अपरेसन गर्दिहाल बाबै, झट्टै, आजै ।" म केबल एमबिबिएस ग्र्याजुएट मात्र भएकोले आफ्नो सिमा सम्झाउँदै भन्छु, "आमा म आँखाको डाक्टर हैन , अपरेसन गर्न जान्दिनँ नी ।" अनी उनी मुख खुम्चाउंदै र फतफताउंदै आफ्नो बाटो लाग्छिन, "तेत्ती नि नजान्ने के को डाक्टर?" । म सोंचमग्न हुन्छु, सांच्ची म के को डाक्टर? एमडी नगरेसम्म केबल मान्छेको डाक्टर मात्र भन्दा उचित होला ।
यो दृश्य कुनै ठुलो अस्पताल या नुर्सिङ होमको हैन , यो त हेटौंडा नगरीको कुनो अनी सुनसान जंगलको बिचमा अवस्थित एक वृध्दाश्रमको , जहाँं कैयौँ वृध्दवृध्दाहरु सो जंगलभन्दा सुनसान र भारी मन बोकेर जीवनको अन्तिम अध्याय कटाउँदै थिए, आफन्त र परिवारजनबाट धेरै पर । म हप्ता मा दुई दिन सोमबार र शुक्रबार हेटौंडा अस्पतालको ब्यस्त ओपिडी सकाएर ३ बजेपछी बचेँखुचेको थोरै जाँगर बोकेर सो वृध्दाश्रम को आमाबुवाको सेवामा पुग्नेगर्थे । सो आश्रम मेरो परिवारजस्तै भईसकेको थियो । बाटुली आमै दिनहुँँजस्तो मेरोसामू आईपुग्थिन् र एउटै प्रश्न दोहोर्याउँथिन, "को हौ तिमी?" शायद Dementia रोग थियो उनलाई: बुढेसकालको रोग, बिर्सने रोग । सधैं जस्तो मेरो जवाफ पनि उही हुन्थ्यो अनी उनको रिस र नैराश्यता । दिन हप्ता र महिनाहरु बित्दै गए । उता आँखा अस्पतालसँग सहकार्य गर्दागर्दै पनि उहाँको आँखाको अपरेसन गर्ने अवस्था बनिसकेको थिएन । बिस्तारै म आँफैलाई त्यो आमाको नजरमा कताकता निरिह र गैरजिम्मेवार महशुस गर्न थालेँ । एकदिन गफको सिलसिलामा आँट जुटाएर सोधेँ ,"आमा हजुरको एउटा आँखा सध्दे नै छ हेर्न मिलेकै छ झन कालो चस्मा लगाउदा कती राम्री पुतली जस्ती देखिनुहुन्छ , आँखाको अपरेसन नगरे हुन्न र ? " अनी उनी भावुक हुँदै बोलिन, "मेरो छोरोले २ बर्ष पहिले मलाई यहाँ ल्याएको थियो , एकमात्र छोरो मेरो , मुटु को टुक्रा । आमा यो हजुरको आँखाको अपरेसन गर्ने ठाउँ हो , दुई-तीन दिन बस्नु , मलाई अफिसको धेरै काम छ, अपरेसन भएपछी म हजुर लाई लिन आउँछु भनेर गाको । यहाँ मेरो अपरेसन नै गर्दिदैन । कत्ती भनिसकेँ ।" ई वाक्य सुनेर म अवाक भएँ । मसँग बोल्ने कुनै शब्द रहेन । ओहो आमा कत्रो ठुलो धमिलो कथा लाई विश्वाश गरेर बसेकी छन । लाग्यो तत्काललाई उनको लागि आँखा होस् या झुठो आश्वाशन सङ्लो नभएकै बेश छ । म चुपचाप कुर्चीबाट उठें र त्यहांदेखी बाहिरिएँ । गेटैमा एउटा मन्दिर थियो , मुर्ती बोल्दो हो त सोध्न मन थियो , यो कस्तो Dementia रोग बनयौ ईश्वर जसले हप्तैपिच्छे आउने मलाई सम्झिँदैन तर बषौं पहिलेको निष्ठुरी छोराको यादहरुलाई बिर्साउन सक्दैन ...
निकै मन छुने ।
ReplyDelete