Thursday, May 14, 2020

मेरी आमालाई पत्र



Pic taken from Google

आदरणीय आमा,
प्रतिस्पर्धा र सफलताको होडबाजीमा रुमल्लिईरहेको यो समाजमा सपनाको जून चुम्ने अपेक्षा राख्दै आफ्नै देहबाट बिरानीँदै गरेको यो नीरिह मुटुको तर्फबाट तिम्रा चरणकमलमा अथाह माया र सम्मानका पुष्पगुच्छाहरु अर्पणगर्दछु। आमा, खोइ किन हो कुन्नी आज फेरी मेरो मन मसँगै बिलौना गर्दैछ। त्यसैले, यस नीर्जिव  दुनियाँ को एक निरस कोठामा बसी टेबलमा छरियर रहेका मानवबिज्ञानका मोटामोटा  पुस्तकहरुलाई एकैछिनका लागि  पन्छाउँदै  तिम्रै नाममा धड्किदै  गरेका मुटुका धड्कनहरुलाई यी कागजका खोस्टाहरुमा ओछ्याउने प्रयत्न गर्दैछु।तिमीलाई याद छ आमा  जब म भुन्टुङ भुन्टुङ गर्दै तोतेबोलिमा "ताराबाजी लैलै" गर्दा तिमी भन्ने  गर्दथ्यौ ,"मेरो भुन्टेको  दिमाग राम्रो छ, पछी गएर डाक्टर बन्नेछ,  मलाई पाल्नेछ" भनेर।  आमा आज म सोही सपनाको गन्तब्यप्राप्तीका लागि आदर्शको गोरेटोमा कठीन पाईलाहरु चाल्दैछु:एक चर्चित मेडिकल कलेजको हातामा, ठूलाठूला ब्यक्तिहरुको छहारिमा। तर तिमीले  त्यतिबेला शायद  सोँच्न  सकिनौ या  भन्न चाहिनौ त्योभुन्टे छोराभित्र अझ भुन्टे तर निर्दोष र इमानदार मुटु पनि छ भनेर। अचेल म  बिहान कलेज  गयदेखी  साँझ  सुत्नेबेलासम्म  क्लासमा , प्रयोगशालामा, पुस्तकालयमा  या  खाजापसलमा  नै  किन  नहोस  सोही  मुटुका  प्रतिध्वनिहरु  नै गुन्जयमान  भईरहेका  महशुस गर्दछु  , शायद  कार्डियो ब्लक भएर पनि होला। मैले गाइटन   देखी  लेहनिन्जर  सम्मका  धेरै  पुस्तकहरुमा  खोजें  मुटुका  बारेमा ,  तर तिम्रोलागी  धड्कने मेरो  मुटुबारे कतै पाउन सकिन। अहँ  पाउँदैपाइन आमा । तैपनी  तिम्रा लागि  ढुकढुक  गर्ने मेरो मुटु  छाडेर कुनै बिध्दान को पारीभाषालाई म कसरी अँगाल्न सक्छु र ? यसर्थ मेरो बुझाईअलि प्रिथक  छ  तर  म  खुशी छु किनकी तिम्रो स्नेह मसँग छ।यो मुटु भन्ने वस्तु आँफैमा यती रहस्यमय रहेछ कि अनुभव र  भोगाइका करीब १९ औं बसन्त पार गरिसक्दा पनि मैले यसलाई एउटै कडिमा बाँधेर परीभाषित गर्न सकेको छैन। यो न त काँचको पानीजस्तै स्थिर छ न त गंगाको जलजस्तै बग्दैजाँदा दाग लाग्नसक्छ । यो मुटु नै हो कसैको चाहमा मोह बढाइदिन्छ, त्यो पनि मुटु नै हो कि मन नपर्नेप्रतीघ्रिणा र तिरस्कार गरिदिन्छ। कहिले  भावुकतामा बसेर कसैप्रती समवेदनाका  दुई शब्द  उरालिदिन्छ त कहिले  स्वप्निलसपनासंगै शयन गर्छ। कहिले काँडाहरुको  बिचमा रोइदिन्छ  त कहिले गुलाबहरुको बिचमा मुस्काइदिन्छ मुटु। हो , वास्तवमा यही नै हो मेरो मुटु जुन तिम्रो माया र मामाताको देन हो।साँच्चीक्कै  आमा , जब म सेतो कोट लगायर हस्पिटलमा जान्छु , हरेक बिरामी आमाहरुमा म तिमीलाई नै देख्दछु ।  त्यतिबेला मेरो मनले भन्छ कि वास्तवमा म चन्द्रमा छुने अपेक्ष्यामा ब्यस्तताको रकेटमा आकाशमाथी जाँदैछु र तिमी भने धर्तिको  जुनकिरी हेरेर विरानीएको  छोराको यादमा आँशु झार्दैछौ।म डाक्टर बन्ने  आकांक्षामा  शहरी  झिलिमिलिसँग लतपतिदैछु भने तिमी यो बर्षामा भिजेका दाउराहरु सल्काउने प्रयत्नमा फु  फु गर्दै धुवाँले रुमल्लियको अगेनामा आफ्ना आशुहरु  लुकाउने प्रयत्न गर्दैछौ । म सम्झन्छु  कि सानो छदा  तिमीलाई थकाई लागेको  होस् या  अल्छि, म रोईरोई राजकुमारको कथा भन्न लगाउँथे र  सुन्थे तर आज चाहेर पनि म तिम्रो ब्यथा सुन्नका  लागि एकछिन समय निकाल्न असमर्थ बन्दैछु। के अर्थ आमा यसरी पाएका डिग्रीका खोस्टाहरु जसमा मेरी आमाका आँशु  र एक्लोपन मसी बनेर मेरा सम्मानका हरफहरु लेखेको होस्। तर के गर्नु आमा म आँफैमा बिवश  छु अनी  तिमी पनि । किनकी हामी दुवै यही समाजको हिस्सा हौं जो आफ्नो मुटुको  चित्कारलाई दबायर दिमागको लगामसंगै दौडन  सिकेको छ । दिमागको ईशारामा चल्ने यो समाज किन बुझ्दैन कि  दिमागी पाइला ले सफलता त देला  तर सन्तुष्टी दिन सक्दैन किनकी सन्तुष्टी  त केवल  मुटुकै  पोल्टामा हुन्छ । यसर्थ  हामी शिकार बनेका छौं यो मुटु र दिमागबिचको  गृहयुध्दको र शहीद  हुँदैछन आत्मसन्तुष्टिका मुनाहरु। जस्तोसुकै भएतापनि तिमीले गह्रौ मुटु पारेर नबस्नु है आमा। तिम्रो यो छोरो हरेक रात तिम्रा गोडा  दबाउन नसकेपनि , तिमी प्यासले  छट्पटाउँदा मध्यरातमा  गाग्राबाट पानी सारेर तिम्रो प्यास मेटाउन नसकेपनि तिमीजस्ता हजारौं आमाहरुको सेवामा गाउँगाउँमा, देशको कुना काप्चामा खटिराखेको हुनेछ एक स्वास्थ्यसेवक बनेर । अब निकट भबिष्यमै पल्लाघरे चमेली दिदिजस्तै  सुत्केरी  हुँदा उपचारनपाएर बित्नुपर्ने अवस्था होस् या दोबाटोमूनिको हिमाल भाईजस्तै दुई थोपा पोलिओ खोप नपायर अपाङ्ग हुनुपर्ने अवस्था होस् सबैको अन्त्य हुनेछ। अन्तत: तिमीजस्ता कैयन नेपाल आमाहरुको घर अनी संघारमा सुनको बिहानी छाउनेछ र सुनौला प्रभातका सपनाहरु साकार हुनेछन... 


No comments:

Post a Comment

Most Viewed