"यस्ती सैतान छोरीले नी के सुख देली र खै डाक्साप जिन्दगीमा?" मैले ओटोस्कोपले कान हेरेर 'नानीले बोडी या भटमासको दानो कानभित्र छिराएजस्तो छ दिदि' भनेपछी बच्चीकी आमा दिक्क मान्दै फतफताउंदै थिईन् । उनी अनुरोधको भाकामा बोलिन् "लौ न सर कसरी हुन्छ निकाल्दिनुपर्यो" । तर विडम्बना हाम्रोमा कानको उपचारका औजारहरू सबै थिएनन् , गेडो पनि कानको अली भित्रै नै थियो । 'अड्कोपड्को तेलको धूप' भनेझैं मैले एउटा सिरिन्जलाई बंगाएर हुकजस्तो बनाए अनी कानभित्रको दाना निकाल्ने प्रयास गरें । सानो ठाउंमा काम गर्दा सबै साधन खोजेर कहां पाउनु, गर्ने जुगाड न हो । कत्ती प्रयास गर्दापनि केही सिप लागेन । त्यहींमाथी फूच्ची त्यस्तै चकचके : विचरी केटाकेटी न हो भनेको के मान्नु! मैले यसो विचार गरें, बच्चीलाई कुरामा भुलाउनुपर्यो अनी काम गर्न सजिलो होला भन्ठानेर यसो बच्चागफ लडाउंदै बोलें "अनि यसरी कानमा गेडागुडी हाल्छन् त लाटी, खानेकुरा त मुखमा पो हाल्नुपर्छ?" बच्ची केही बोलिन अनि उसको नाम नै लिएर प्रश्न गरें, "ल भन त सुविना, तिमीले किन कानमा यस्तो हालेको? भन्यौ भने नदुखाईकन निकालिदिन्छु।" केहीबेरको मौनतापछी उ हल्का डराउंदै र लजाउंदै बोली, "कहांबाट निस्किनी रैछ भनेर हेर्नलाई नी!" हरे बच्चाबच्चीको जिज्ञासुपन र explore गर्ने तरिका । मान्नैपर्छ बा । अब अन्तिम एक प्रयास गर्छु भनेर निकै सावधानीका साथ सुई कानमा छिराएं, नानीले पनि भनेको मानि/ चलिन र अन्तत: एउटा भटमासको दानो कानबाट फुत्त बाहिर निस्किनपुग्यो । भटमास नानीकी आमालाई देखाएर यस्सो डस्टबिनमा फाल्नमात्र के लागेको थिएं उनकी आमाले हत्तपत्त त्यो दानो नफाल्दिनु न म घर लिएर जान्छु पो भनिन् । मपनि वातावरणलाई थप सहज बनाउने सोंचेर जिस्किंदै बोलें "के गर्नुहुन्छ यो लगेर रोप्ने विचार छ र?" उनले अट्टहासका साथ थपिन् 'भोलिपर्सी अलि बुझ्ने भएसी यसलाई देखाउनु परेन सर यो कती बदमास थिई र कती दु:ख दिन्थी मलाई भनेर? यसको बाउले विदेशबाट फोन गरेर एउटा बच्चीको पनि ख्याल राख्न सक्दिनस् भनेर मासु खाईसक्यो' उनी बोलिन् । "यस्ती सैतान छोरीले नी के सुख देली र खै जिन्दगीमा?" पुन: प्रारम्भकै प्रतिप्रश्न?? मैले उनलाई त्यो दानो थमाएर कानमा हाल्ने एउटा औषधी लेखिदिएं अनी पुर्जा उनीतिर सार्दै बोल्नपूगें "कानमा एउटा गेडो हाल्दैमा बच्चाबच्चीले जिन्दगीमा दुख दिन्छन् भन्ने हुन्छ र दिदि? मैलेपनि यो नानीजस्तै हुंदा कानमा धानका गेडा हालेकोथें, यस्तो टुप्लुक्क एउटा हैन, ४-५ ओटा । खोई अहिलेसम्म आउंदा बाआमा खुसी नै छन् जस्तो लाग्छ मदेखी, धेरै सुख दिन नसके नी दुखी नै बनाउन परेको त छैन । " उनी खिस्स हांसिन्, बच्चीलाई काखमा बोकिन् र मैले लेखेको पुर्जा हातमा गुटुमुटु पार्दै जवाफ फर्काईन् , "बरू ३-४ ओटा दाना अझै हालेपनि केही थिएन डाक्साप यो केटीले तर हजुरजस्तो डाक्टर बनी भने के चाहिन्थ्यो र मलाई" यतिभन्दै उनी आफ्नो बाटो लागिन् । उनको बोलीमा आफ्नो सन्तानप्रतीको माया र तिनको भविष्यप्रतिको गहिरो रहस्य लुकेको थियो । उनी नानी बोकेर पर पुगिसकेकी थिईन् । म त के नै थिएं र एउटा सामान्य व्यक्ती जो आफ्नो भविष्यको संघारमा अन्योलता र संकोचैसंकोचको पाईलाहरू चलाउंदै थिएं तरपनी आमाको चाहनाजस्तै धेरै ठूलो र सफल डाक्टर बनाईदिनु प्रभू यि नानीलाई । किनभने आमाको सपनाभन्दा ठूलो र खुसीभन्दा शितल के नै होला र संसारमा? आमाको आंशुभन्दा अंधकार र बेचैनी भन्दा प्रचण्ड के नै होला धरतीमा? यत्तिकैमा छेवैमा उभिएकी कार्यालय सहयोगी दिदीले भनिन्, "भनेपछी हजुरपनि यही नानीजस्तै हो सर?" हरेक बच्चा उस्तै त हो नी दिदी भन्दै आफ्नो बाल्यकालको बिठ्याईं दिदीलाई सुनाउन थालें । मंसिरको महिना थियो, म त्यस्तै ४-५ बर्षको हुंदो हूं, बुवामम्मी धान स्याहार्दै हुनुहुन्थ्यो, म केलाईसकेको धानको थुप्रोनेर बसेको थिएं । मलाई के बालबुध्दी फिरेछ कुन्नी हत्केलामा धानका दाना लिंदै एउटा एउटा गर्दै कानमा छिराउन लागेछु । करिब ५ ओटा जती धानका दाना कानमा हुलिसक्दा मम्मीले देख्नुभयो र हत्तपत्त आएर हात टक्टकाईदिनूभो अनी लौ न नी भन्दै जूरूक्क उठाएर मेरो कान तन्काएर हेर्नथाल्नूभो । एक लट गालीसंगै मेरो कानमा धानरोपाईं कार्यक्रम त्यहीं स्थगीत हुनपूग्यो । यता बुबामम्मीले मलाई रोपिसकेको बिउ काड्न मेडिकल लैजाने सल्लाह गर्नुभएछ । त्यसपछी म बुवाको साईकलको पछाडी बसेर मेडिकलसम्म पूगें । त्यहांको डाक्टर अंकलले बडेमानको पिच्कारी ल्याएर मेरो कानमा होली खेल्नुभाको अझै याद आउंछ , ओहो त्यस्तोबेला कती डर लाग्दोरैछ भन्ने कि मलाई थाहा भयो कि अघी मैले भटमासको गेडो निकालेकी नानीलाई थाहा होला । एक एक गर्दै सबै दाना निकालेपछी बुवाले मलाई घर ल्याउनुभो । मेरो धान रोपाईले यता घरमा त्यो दिनको धान स्याहार्ने कार्यक्रम स्थगित नै भईसकेकोरहेछ । म भने सबै कुरादेखी बेमतलब, बजारमा बुवाले किनिदिनुभाको फ्रूटी र चाउचाउमा रमाउंदै थिए । बच्चाबेला बिरामी हुनुको एकमात्र राम्रो पक्षचाहीं के भने खान मन लागेको चिजमा पसल अगाडी गएर औंलो तेर्साईदिएपछी अरूबेलाजस्तो नाईनास्ती रोकावट केही नहुने । अहिले ति दिन सम्झेर ल्याउंदा रमाईलै लागेर आउंदोरैछ तर पिच्कारीको पानीले होला रातभर कान गिजीगिजी गरेको सम्झंदा चाहीं गिदि लागेर आउने बा ।
स्मृतिका पानाहरु
न सुन्नेले बुझे न सुनाउनेले नै बुझाउन सकियो: भावनाका कुरा , मात्र कैद बनेर बसेका छन यि स्मृतिका पानाहरुमा...
Wednesday, August 12, 2020
Saturday, June 13, 2020
पुच्छर
नोट : लामो समयदेखिको आफ्नो मातृभूमीको राजनीतिलाई नियालेर यो कथा रचेको छु, बुझ्नेलाई ईशारा नै काफी छ।
Thursday, May 14, 2020
मेरी आमालाई पत्र
प्रतिस्पर्धा र सफलताको होडबाजीमा रुमल्लिईरहेको यो समाजमा सपनाको जून चुम्ने अपेक्षा राख्दै आफ्नै देहबाट बिरानीँदै गरेको यो नीरिह मुटुको तर्फबाट तिम्रा चरणकमलमा अथाह माया र सम्मानका पुष्पगुच्छाहरु अर्पणगर्दछु। आमा, खोइ किन हो कुन्नी आज फेरी मेरो मन मसँगै बिलौना गर्दैछ। त्यसैले, यस नीर्जिव दुनियाँ को एक निरस कोठामा बसी टेबलमा छरियर रहेका मानवबिज्ञानका मोटामोटा पुस्तकहरुलाई एकैछिनका लागि पन्छाउँदै तिम्रै नाममा धड्किदै गरेका मुटुका धड्कनहरुलाई यी कागजका खोस्टाहरुमा ओछ्याउने प्रयत्न गर्दैछु।तिमीलाई याद छ आमा जब म भुन्टुङ भुन्टुङ गर्दै तोतेबोलिमा "ताराबाजी लैलै" गर्दा तिमी भन्ने गर्दथ्यौ ,"मेरो भुन्टेको दिमाग राम्रो छ, पछी गएर डाक्टर बन्नेछ, मलाई पाल्नेछ" भनेर। आमा आज म सोही सपनाको गन्तब्यप्राप्तीका लागि आदर्शको गोरेटोमा कठीन पाईलाहरु चाल्दैछु:एक चर्चित मेडिकल कलेजको हातामा, ठूलाठूला ब्यक्तिहरुको छहारिमा। तर तिमीले त्यतिबेला शायद सोँच्न सकिनौ या भन्न चाहिनौ त्योभुन्टे छोराभित्र अझ भुन्टे तर निर्दोष र इमानदार मुटु पनि छ भनेर। अचेल म बिहान कलेज गयदेखी साँझ सुत्नेबेलासम्म क्लासमा , प्रयोगशालामा, पुस्तकालयमा या खाजापसलमा नै किन नहोस सोही मुटुका प्रतिध्वनिहरु नै गुन्जयमान भईरहेका महशुस गर्दछु , शायद कार्डियो ब्लक भएर पनि होला। मैले गाइटन देखी लेहनिन्जर सम्मका धेरै पुस्तकहरुमा खोजें मुटुका बारेमा , तर तिम्रोलागी धड्कने मेरो मुटुबारे कतै पाउन सकिन। अहँ पाउँदैपाइन आमा । तैपनी तिम्रा लागि ढुकढुक गर्ने मेरो मुटु छाडेर कुनै बिध्दान को पारीभाषालाई म कसरी अँगाल्न सक्छु र ? यसर्थ मेरो बुझाईअलि प्रिथक छ तर म खुशी छु किनकी तिम्रो स्नेह मसँग छ।यो मुटु भन्ने वस्तु आँफैमा यती रहस्यमय रहेछ कि अनुभव र भोगाइका करीब १९ औं बसन्त पार गरिसक्दा पनि मैले यसलाई एउटै कडिमा बाँधेर परीभाषित गर्न सकेको छैन। यो न त काँचको पानीजस्तै स्थिर छ न त गंगाको जलजस्तै बग्दैजाँदा दाग लाग्नसक्छ । यो मुटु नै हो कसैको चाहमा मोह बढाइदिन्छ, त्यो पनि मुटु नै हो कि मन नपर्नेप्रतीघ्रिणा र तिरस्कार गरिदिन्छ। कहिले भावुकतामा बसेर कसैप्रती समवेदनाका दुई शब्द उरालिदिन्छ त कहिले स्वप्निलसपनासंगै शयन गर्छ। कहिले काँडाहरुको बिचमा रोइदिन्छ त कहिले गुलाबहरुको बिचमा मुस्काइदिन्छ मुटु। हो , वास्तवमा यही नै हो मेरो मुटु जुन तिम्रो माया र मामाताको देन हो।साँच्चीक्कै आमा , जब म सेतो कोट लगायर हस्पिटलमा जान्छु , हरेक बिरामी आमाहरुमा म तिमीलाई नै देख्दछु । त्यतिबेला मेरो मनले भन्छ कि वास्तवमा म चन्द्रमा छुने अपेक्ष्यामा ब्यस्तताको रकेटमा आकाशमाथी जाँदैछु र तिमी भने धर्तिको जुनकिरी हेरेर विरानीएको छोराको यादमा आँशु झार्दैछौ।म डाक्टर बन्ने आकांक्षामा शहरी झिलिमिलिसँग लतपतिदैछु भने तिमी यो बर्षामा भिजेका दाउराहरु सल्काउने प्रयत्नमा फु फु गर्दै धुवाँले रुमल्लियको अगेनामा आफ्ना आशुहरु लुकाउने प्रयत्न गर्दैछौ । म सम्झन्छु कि सानो छदा तिमीलाई थकाई लागेको होस् या अल्छि, म रोईरोई राजकुमारको कथा भन्न लगाउँथे र सुन्थे तर आज चाहेर पनि म तिम्रो ब्यथा सुन्नका लागि एकछिन समय निकाल्न असमर्थ बन्दैछु। के अर्थ आमा यसरी पाएका डिग्रीका खोस्टाहरु जसमा मेरी आमाका आँशु र एक्लोपन मसी बनेर मेरा सम्मानका हरफहरु लेखेको होस्। तर के गर्नु आमा म आँफैमा बिवश छु अनी तिमी पनि । किनकी हामी दुवै यही समाजको हिस्सा हौं जो आफ्नो मुटुको चित्कारलाई दबायर दिमागको लगामसंगै दौडन सिकेको छ । दिमागको ईशारामा चल्ने यो समाज किन बुझ्दैन कि दिमागी पाइला ले सफलता त देला तर सन्तुष्टी दिन सक्दैन किनकी सन्तुष्टी त केवल मुटुकै पोल्टामा हुन्छ । यसर्थ हामी शिकार बनेका छौं यो मुटु र दिमागबिचको गृहयुध्दको र शहीद हुँदैछन आत्मसन्तुष्टिका मुनाहरु। जस्तोसुकै भएतापनि तिमीले गह्रौ मुटु पारेर नबस्नु है आमा। तिम्रो यो छोरो हरेक रात तिम्रा गोडा दबाउन नसकेपनि , तिमी प्यासले छट्पटाउँदा मध्यरातमा गाग्राबाट पानी सारेर तिम्रो प्यास मेटाउन नसकेपनि तिमीजस्ता हजारौं आमाहरुको सेवामा गाउँगाउँमा, देशको कुना काप्चामा खटिराखेको हुनेछ एक स्वास्थ्यसेवक बनेर । अब निकट भबिष्यमै पल्लाघरे चमेली दिदिजस्तै सुत्केरी हुँदा उपचारनपाएर बित्नुपर्ने अवस्था होस् या दोबाटोमूनिको हिमाल भाईजस्तै दुई थोपा पोलिओ खोप नपायर अपाङ्ग हुनुपर्ने अवस्था होस् सबैको अन्त्य हुनेछ। अन्तत: तिमीजस्ता कैयन नेपाल आमाहरुको घर अनी संघारमा सुनको बिहानी छाउनेछ र सुनौला प्रभातका सपनाहरु साकार हुनेछन...
Subscribe to:
Posts (Atom)
Most Viewed
-
आमा : आँफैमा कती पवित्र नाम। सुनेको थियँ आमा ममताकी खानी हुन् , प्रेमकी जननी हुन अनी महानताकी पूजारी हुन । आँफु जलेर ...
-
अचानक एउटी महिला मेरो अगाडी आईपुग्छिन , टक्क उभिन्छिन् र टेबल ठटाउँदै रुखो स्वरमा बोल्छिन् , " को हौ तिमी ?" म औ...
-
Photo: Patan Academy of Health Sciences 3rd Batch students taking oath at white coat ceremony For a moment, can you just close your ey...
-
"समर लभ" यानिकी छोटो समयको अवीस्मरणिय प्रेम, सरल भाषामा लेखिएको एक सुन्दर उपन्यास । एउटा रचना जसले पा...
-
दुनियाँ लाई जितेपनी आँफैसँग हार्दैछु म, खुशीयाली पाखा लागे आसुँधारा झार्दैछु म कत्ती माया गर्छ्यौ तिमी कत्ती आफ्नो भन्छ्यौ तिमी, ...